पूर्व लडाकु अब शान्ति सेना बन्ने

शान्ति प्रक्रिया अन्तर्गत आफूमा समायोजन भएका पूर्व माओवादी लडाकुहरुलाई नेपाली सेनाका अन्य सदस्य जस्तै यसै आर्थिक वर्षदेखि संयुक्त राष्ट्रसंघको शान्ति सेनामा खटाउने प्रकिया थालिने नेपाली सेनाले बताएको छ।

शान्ति सैनिकका रुपमा विश्वका द्वन्द्वग्रस्त राष्ट्रहरुमा खटिनुअघि सबै सैनिकले अनिवार्य लिनुपर्ने पूर्व तैनाथी तालिममा उनीहरुलाई चाँडै सहभागी गराउन लागिएको नेपाली सेनाका प्रवक्ताले बताएका छन्।

राष्ट्रसंघको शान्ति सेनाको उच्च ओहदामा पुगेका तथा नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका एकजना पूर्व उच्च सैनिक अधिकारीले पछिल्लो तयारीलाई महत्वपूर्ण प्रगति भनेका छन्।

सन् १९५८ मा पहिलोपटक शान्ति सेनाका रुपमा सहभागिता जनाएको नेपालले हालसम्म राष्ट्रसंघलाई १ लाख १५ हजारभन्दा बढी शान्ति सैनिक उपलब्ध गराइसकेको छ।

झण्डै अढाई वर्षअघि नेपाली सेनाको अधिकृत र तल्लो दर्जाको आधारभूत तालिम पूरा गरेका पूर्व माओवादी लडाकूहरु हाल राष्ट्रिय सेनाभित्र गठन गरिएको राष्ट्रिय विकास तथा सुरक्षा महानिर्देशनालयमा कार्यरत छन्।

पहिलेदेखिनै नेपाली सेनामा रहेका र पछि समायोजित भएकामाझ ६५/३५ प्रतिशत अनुपातमा दरबन्दी रहेको उक्त महानिर्देशनालय अन्तर्गतका राष्ट्रिय विकास निर्देशनालय,‍ वन तथा पर्यावरण सुरक्षा निर्देशनालय र विपद् व्यवस्थापन निर्देशनालयहरु सञ्चालनमा छन्।

शान्ति प्रक्रियाका क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले प्रमाणीकरण गरेका १९ हजारभन्दा बढी लडाकुमध्ये १४ सयभन्दा बढी नेपाली सेनामा समयोजन भएका थिए।

झण्डै २५ सय पूर्व लडाकू समायोजन तथा पुनर्स्थापना प्रकियामा अनुपस्थित रहेका थिए भने बाँकीमध्ये लगभग सबैले स्वेच्छिक अवकास रोजेका थिए।

नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले यसै आर्थिक वर्षबाट समायोजित सैनिकहरुलाई राष्ट्रसंघीय शान्ति सैनिकका रुपमा खटाउने प्रकिया थालिने बीबीसीलाई बताए।

उनले भने, “नेपाली सेनाको सकलदर्जाले पाउनुपर्ने सुविधाहरु समान रुपमा सबैले पाउनुहुन्छ, समायोजन भएकोदेखि लिएर सबैले एउटै किसिमको सुविधा पाउनुहुन्छ, मलाई जहाँसम्म लाग्छ अब तुरुन्तै उहाँहरुको पनि शान्ति सेनामा जाने अवसर हुन्छ।”

नेपाली सेनामा समायोजन हुने क्रममा भर्ना प्रकियामा केही छुटसहित आधारभूत, दर्जा विशेष र हतियारको तालिम लिइसकेका ती पूर्व लडाकुहरु आफ्नो अभिन्न अंग बनिसेकको नेपाली सेनाले बताउने गरेको छ।

सैनिक प्रवक्ता कार्कीले समायोजित सैनिकहरुलाई चाँडै नै काभ्रेको पाँचखालमा रहेको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा ३ महिनाको शान्ति सेना पूर्व तैनाथी तालिममा सहभागी गराइने बताए।

“नेपाली सेनाका सकलदर्जालाई जुन किसिमको व्यवहार छ, जुन किसिमको मापदण्ड छ, जुन किसिमको सेवा सुविधा छ त्यही नै हुन्छ, अब लगत्तै उहाँहरु पाँचखालमा तालिमका लागि जानुहुन्छ, त्यसपछि मिसनमा जानुहुन्छ।”

समायोजन भएका १४ सय २२ पूर्व लडाकुमध्ये १०१ जना महिला छन्।

माओवादी सेनाका लडाकूहरुको रेखदेख समायोजन तथा पुनर्स्थापना विशेष समिति अन्तर्गतको सचिवालयका संयोजक समेत रहेका नेपाली सेनाका पूर्व रथी बालानन्द शर्मा पूर्व लडाकुहरु शान्ति सेनामा सहभागी हुन पाउने चरण आरम्भ हुन लाग्नु शान्ति प्रक्रियाको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउँछन्।

उनी भन्छन्, “पूर्व लडाकु आएर नेपाली सेनामा मिस्सिएर पुरानो भेदभावपूर्ण रुपमा बिर्सिएर यहाँसम्म आइसेकेकोहरुलाई जुन दिनुपर्थ्यो त्यो दिन लागेको छ र पाउनुपर्थ्यो पाउन लागेको छ, यो खुशीको कुरा हो।”

संयुक्त राष्ट्रसंघको आह्वानमा गएर शान्ति स्थापना गर्न सक्ने तहको ज्ञान आर्जन गरी त्यसको मान्यता पाउनेसम्मको तहमा समायोजित सैनिकहरु पुग्नु ठूलो उपलब्धि भएको शर्माको भनाई छ।

समायोजन प्रकियाकै दौरान पूर्व लडाकुहरुको पृष्ठभूमि एवं गम्भीर प्रकृतिका मानव अधिकार हननमा उनीहरुको संलग्नताबारे जाँच गरिएको भन्दै शर्माले आवश्यक तालिम हासिल गरेपछि उनीहरुलाई शान्ति सैनिकका रुपमा खटाउन कुनै अप्ठेरो नभएको उल्लेख गरे।

सन् २००४ देखि २००७ सम्म गोलनहाइट्सस्थित राष्ट्रसंघीय मिसनको फोर्स कमाण्डरको उच्च ओहदामा काम गरेको अनुभव रहेका शर्माले शान्ति सैनिकमा खटिनुअघि पेशागत दक्षता भने कायम हुनुपर्नेमा जोड दिए।

शर्मा भन्छन्, “त्यहाँ कामको लागि जाने हो, कसैलाई पुरस्कार दिन पठाउने ठाउँ होइन त्यो जुन गलत ढंगले हाम्रोमा बुझ्ने गरिन्छ, मैले तल्लो तहमा पनि काम गरेको छु र मैले फोर्स कमाण्डर भएर पनि काम गरेको छु, मैले त्यहाँ जतिलाई ल्याए काम गराउन ल्याए। यिनीहरु पनि जाने काम गर्न नै हो।”

तल्लो तहका सुरक्षा निकायले नेपालमा मासिक कमाउने भन्दा दश गुणा बढीसम्म आम्दानी हुने र चुनौतीपूर्ण द्वन्द्वग्रस्त क्षेत्रमा अन्तर्राष्ट्रिय फौजसँग काम गर्ने अनुभव प्राप्त हुने भएकाले शान्ति सेनाप्रति नेपाली सुरक्षा निकायमा विशेष आकर्षण पाइन्छ।

नेपालले हालसम्म राष्ट्रसंघलाई १ लाख १५ हजारभन्दा बढी शान्ति सैनिक उपलब्ध गराइसकेको छ।चार हजार ३ सयभन्दा बढी नेपाली सैनिकसहित करिब ५ हजार ३ सय सुरक्षाकर्मी हाल शान्ति सैनिकका रुपमा खटिएका छन्।

राष्ट्रसंघलाई शान्ति सेना उपलब्ध गराउने छैठौँ प्रमुख राष्ट्र रहेको नेपालले राष्ट्रसंघको माग भएमा झण्डै दश हजारसम्म फौज आफूले उपलब्ध गराउन सक्ने बताएको छ।बिबिसी