पाथीभरामा पर्यटक बढे

pathibhara-templeपूर्वको धार्मिक शक्तिपिठ तथा पर्यटकीय क्षेत्र ताप्लेजुङको पाथीभरा देवीको दर्शन गर्न यो वर्ष सबैभन्दा धेरै धार्मिक पर्यटक आएका छन् । गर्त वर्षको भूकम्पले थिलथिलो बनेको पूर्वी पहाडको पर्यटन क्षेत्र पाथीभरा मन्दिरको दर्शनका लागि आउने धार्मिक पर्यटकको वृद्धिसँगै तंग्रिएको छ ।
बन्द भएका दर्जनौं होटलहरू पुनः सञ्चालनमा आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईका अनुसार पाथीभराको दर्शनका लागि एक वर्षमा दुई सिजन उपयुक्त मानिन्छ । दुई सिजनको चार महिनामा पाथीभराको दर्शनका लागि धार्मिक पर्यटकको भीड लाग्ने गर्छ । चैत, वैशाख अनि असोज, कात्तिक महिनाको सिजनमा धार्मिक पर्यटक पाथीभरा देवीको दर्शनका लागि आउने गर्छन् ।

पुस र माघमा चिसोका कारण पर्यटक आवागमन ठप्प नै हुन्छ । यो वर्षको चैत र वैशाखमा पर्यटकहरूको भीड लागेको भट्टराईको भनाइ छ । पछिल्लो दुई महिनामा १ लाख ५० हजार तीर्थयात्रुहरूले पाथीभराको दर्शन गरेको तथ्यांक छ । “चैत र वैशाखमा त यात्रुहरूको साह्रै भीड लाग्यो,” भट्टराईले भने, “एकै दिन २५ हजार तिर्थालुले पाथीभराको दर्शन गरे ।” रामनवमीको दिन २५ हजारभन्दा धेरै तीर्थयात्रुले पाथीभरा देवीको दर्शन गरेका थिए । विगतका वर्षहरूमा एक दिनमा दुईदेखि पाँच हजार तीर्थयात्रुहरूले पाथीभराको दर्शन गरेको रेकर्ड छ ।