पत्रकारिताबाट समाजलाई जोडौ

पछिल्लो समय देशमा देखिएको समस्यामा पत्रकार र सञ्चारमाध्यमले विशेष ध्यान दिँदै समाजलाई जोड्ने काममा mahendra bistaलाग्नुपर्ने नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले बताउनुभएको छ ।

आज प्यूठानमा जिल्लाका पत्रकारसँग सामूहिक छलफल गर्दै उहाँले तराई क्षेत्रमा पछिल्लो एक सय दिनमा ९५ वटा प्रेस स्वतन्त्रता हनन भएको भन्दै आन्दोलनले प्रेस क्षेत्र थप असुरक्षित भएको समेत बताउनुभयो । देशमा पछिल्लो समय देखिएको जाति तथा क्षेत्रगत विभाजनलाई सङ्केत गर्दै अध्यक्ष विष्टले पत्रकारको न्यूनतम पारिश्रमिक ऐन २० वर्षदेखि कार्यान्वयन नभएको भन्दै त्यसको तत्काल कार्यान्वयनमा महासङ्घले पहल गर्ने बताउनुभयो । पत्रकारको क्षमता विकासको अभाव भएकाले पनि पारिश्रमिक ऐन प्रभावकारी बनाउन नसकिएको भन्दै उहाँले सरकारसँगको समन्वयमा केन्द्रीय प्रशिक्षण विभाग स्थापनाको तयारी भएको बताउनुभयो ।

यसैबीच, अध्यक्ष विष्टसमक्ष प्यूठानका पत्रकारले पत्रकार असुरक्षित हुने र पत्रकारको परिवारमा समेत भौतिक आक्रमणको प्रयास हुने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । प्यूठानका पत्रकार प्रमोद पोख्रेलको आमाको बम विस्फोट गराई हत्या भएको लामो समयसम्म पनि छानबिन नभएको प्रसङ्ग उठाउँदै जिल्लाका पत्रकारले पत्रकारको सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन् । हाल पत्रकार पोख्रेलले आमाको हत्या भएपछि १२ वर्षदेखि पत्रकारिता गर्दै आएकोमा विस्थापित भएको भन्दै जिल्लाका पत्रकारले घटनालाई गम्भीर रुपमा लिन अध्यक्ष विष्टलाई आग्रह गरेका छन् । रासस