‘नेपाल सुरक्षित छ’ वृत्तचित्र निर्माण

भर्खरै उदाउन लागेको सूर्यको रातो किरण हिउँमा पर्दा सुनौलो रङगको हिमाल देखिने सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याउँछ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले केही समय हिमाल आरोहण, पर्यटन क्षेत्रमा समेत अवरोध पु¥यायो । अब नेपाल पर्यटकीय दृष्टिकोणले सुरक्षित छ भन्ने सन्देश दिने उद्देश्यले गायक तथा हिमाल पथप्रदर्शक इन्सु राईले ‘नेपाल सुरक्षित छ’ वृत्तचित्रको निर्माण गरेका छन् ।

सगरमाथावरपर आरोहण गरिरहेको र हिमालको मनमोहक दृश्य समेटेर छायाङ्कन गरिएको उक्त वृत्तचित्र ३ मिनेट ११ सेकेन्डको छ । भूकम्पको ६ महिनापछि राईले मेरा पिकको ६ हजार ४७१ मिटर उचाइमा नेपालमा पर्यटन सुरक्षित छ भन्ने सन्देश दिन ‘लाइभ साङ्गीतिक कन्सर्ट’ समेत गरेका थिए ।

काठमाडौँबाट करिब ७ घन्टाको अवधिमा पुगिने सोलुखुम्बु र ओखलढुङ्गाको सिमानामा रहेको सुन्दर पत्ताले डाँडाको मनोरम दृश्य समेत उक्त वृत्तचित्रमा देख्न सकिन्छ । उक्त पत्ताले डाँडाको उचाइ तीन हजार २०० मिटर छ । त्यहाँबाट सगरमाथा, मकालु, ल्होत्सेलगायत विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिने जानकारी दिँदै गायक राईले पत्तालेडाँडा नयाँ पर्यटकीय क्षेत्र बन्न सक्ने बताउनुभयो ।

वृत्तचित्रको निर्देशन, उद्घोषण, तथा छायाङ्कन राई आफैँले गरेका छन् भने त्यसमा रहेको गीतमा उनलाई गायिका इन्दिरा जोशीले साथ दिएकी छिन् । अनिलकुमार महर्जनले सम्पादन गरेको उक्त वृत्तचित्रमा माउन्टेनियरिङ कल्चर एक्सपिडिसन नेपालको प्रस्तुति रहेको छ । रासस