नेपाल नामिबियासँग पराजित, विश्वकपमा स्वतः छनोट हुनबाट वञ्चित

बंगलादेशमा जारी यु-१९ विश्वकपको सातौ स्थानका लागि भएको खेलमा नामिबियाले नेपाललाई १५ रनले पराजित गर्दै सातौँ स्थान कब्जा गरेको छ । यसका साथै नामिबिया आगामी सन् २०१८ मा न्युजिल्याण्डमा हुने यु-१९ विश्वकपका लागि स्वत छनोट भएको छ ।

nepal-vs-namibiaबंगलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मान अली रंगशालामा भएको खेलमा नेपालले पाएको २ सय २६ रनको विजय लक्ष्य पछ्याउने क्रममा मात्र २ सय १० रन जोड्दै अल आउट भएपछि नेपाल १५ रनले पराजित भएको हो । नेपालका तर्फबाट प्रारम्भिक ब्याटस्म्यान सुनिल धमलाले उत्कृष्ट पारी खेल्दै ५९ रन जोडेका थिए । यस्तै, प्रेम तामाङले  ३२ रन, योगेन्द्र सिंह कार्कीले ३५ रन, दीपेन्द्र सिंह ऐेरीले ३१ रन र आरिफ शेख ३० रन  जोडेका थिए ।

नामिबियाका लागि माइकल भान लिन्गेनले ४ विकेट लिएका थिए भने फ्रिट्ज कोट्जीले ३ विकेट लिएका थिए र ज्याकोब्सले २ विकेट लिएको थिए ।

यसअघि नामिबियाले टस जितेर ब्याटिङ गर्दै निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर २ सय २५ रन जोडेको थियो । नामिबियाका लागि लोहान लरेन्सले सर्वाधिक ५९ रन जोडेका थिए । यस्तै, फ्रान्सोइस राउतेन्बच र माइकल भान लिन्गेनले ९९ रनको साझेदारी गरेपछि नामिबियाले उक्त योगफल तयार गर्न सफल भएको हो । यस क्रममा माइकल भानले ५८ रन र फ्रान्सोइसले ३९ रन जोडेका थिए ।

नेपालका तर्फबाट सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने सुशील कडेंलले २ विकेट, लिएका थिए भने सुनिल धमला र प्रेम तामाङले समान १-१ विकेट लिएका थिए ।

  • Post category:खेल