नेपाली मूलका कैनी बेलायती काउन्सिलरमा विजयी

kaini-bachchuनेपाली मूलका बच्चुकैलाश कैनी बेलायती स्थानीय निकायको निर्वाचनबाट काउन्सिलरमा चुनिएका छन् । तनहुँको घाँसीकुवास्थित कमलाबारीमा जन्मेका कैनी बेलायतको डार्टफोर्ड क्षेत्रको निर्वाचनबाट काउन्सिलर पदमा विजयी भएका हुन् ।

आफ्ना निकटतम प्रतिनिधि कन्जरभेटिभ पार्टीका उम्मेदवार डेभिड बट्लरलाई पराजित गर्दै कैनी काउन्सिलर बनेका हुन् ।

देशैभर लेबर पार्टीको कमजोर प्रदर्शनका बाबजुद कैनीले आफ्नो क्षेत्रमा भने पार्टीलाई विजयी बनाएका छन् । खसेको २२ सय ५० भोटमा कैनीले आठ सय ४६ मत पाए ।

उनका प्रतिद्वन्द्वी कन्जरभेटिभ उम्मेदवारले आठ सय दुई मत पाए । काउन्सिलरमा विजयी भएपछि कैनी डार्टफोर्डको मेयर पदका लागि पनि उम्मेदवार बन्न पाउने भएका छन् ।

Bachchukailash_kaini_UK_electionकैनीको जीवन-यात्रा
बच्चुकैलाश प्रजातान्त्रिक आन्दोलनका एक सिपाही मेघनाथ कैनीका छोरा हुन् । तनहुँको लोकतान्त्रिक आन्दोलनमा सबैभन्दा धेरै जेल सजाय भोग्ने व्यक्तिको रुपमा उनी परिचित छन् ।

उनै मेघनाथका पुत्र बच्चुकैलाशमा सानैदेखि राजनैतिक चेतना उच्च थियो । विद्यार्थीकालमा राजनीतिमा होमिएका उनी २०४३ सालमा नेविसंघको सह–सचिव भएका थिए ।

आईए सकेर नेपाली सेनामा भर्ती भएका उनले राजनीतिमा संलग्न भएकै आरोपमा सेनामा पाकिसकेको सेकेण्ड लेफ्टिनेन्टको जागिरबाट हात धुनु परेपछि २०४६ सालको जनआन्दोलनमा होमिए ।

त्यसपछि विकम सकेर २०४८ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेका उनले २०५२ सालमा सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा प्रशासन प्रमुखको रुपमा जागिर पाए ।

त्यसको करिब दश वर्षसम्म सोही पदमा कार्यरत कैनीले यसबीचमा भारतबाट हस्पिटल म्यानेजमेन्टमा स्नातकोत्तरको उपाधिसमेत पाए ।

सधैं नयाँ काम गर्न खोज्ने कैनीका लागि एक दशक एउटै पदमा रहनुपर्ने अवस्था जटिल बन्न पुगेको थियो । ‘मेरा लागि यहाँबाट माथि जाने ठाउँ नै थिएन,’ उनले भने,‘त्यसैले विकल्पमा बेलायत जाने निर्णय गरें ।’

भारतबाट हस्पिटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेकाले सहजै त्यहाँको अस्पतालमा जागिर पाएका कैनी अहिले लण्डनको सरकारी क्विन एलिजावेथ अस्पतालका वरिष्ठ प्रबन्धक हुन् ।