Feb 032016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

purushottam dahalठीक समयमा पार्टीको महाधिवेशन गराउन असमर्थ नेतृत्वले आफ्नो पार्टीको वैधानिकता जोगाउनका लागि मात्र गरेको प्रयासका कारण नेपाल अहिले दुर्गतिको भयानक पीडा भोग्न विवश छ । यी र यस्तै अनेक व्यवधानसँगै नेपाली काँग्रेसले लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिँदै गाउँसम्म नै मताधिकारको प्रयोग गर्नु लोकतान्त्रिक संस्कृतिका लागि सुखद मान्नुपर्ने हुन्छ । केही स्थानमा खुकुरी प्रयोगदेखि कतिपय स्थानमा सदस्यलाई प्रभावित गराउन अनेक चुनावी प्रतिबद्धतासमेत भएको सुनियो । करिब आम निर्वाचन वा स्थानीय तहको निर्वाचनमा विपरीत दलका बीचमा देखिने प्रतिस्पर्धा नेपाली काँग्रेसको गाउँ तहमा समेत सदस्य माझ पुग्नुलाई लोकतान्त्रिक अभ्यासका आधारमा सहज र स्वाभाविक मान्नुपर्ने हुन्छ । लोकतन्त्रको प्रयोग आम निर्वाचनको चुनावले मात्र प्रमाणित गर्दैन । पार्टी जीवनमा चुनावी अभ्यास त्यसमा देखिने स्वस्थ प्रतिस्पर्धा र चुनावलाई ईश्र्या र प्रतिशोधको माध्यम बनाउनुभन्दा उत्सवका रुपमा वरण गर्ने चरित्रको विकासले लोकतान्त्रिक संस्कृतिलाई प्रवद्र्धन गर्नेमा कुनै सन्देह छैन । चुनावलाई उत्सवका रुपमा वरण गर्ने संस्कृति निर्माण गर्नसके लोकतन्त्रको स्थायित्व र संस्थागत विकास सुनिश्चित हुनसक्छ तर स्थापनाका सात दशक पार गरे पनि र अनेक झन्झटलाई झेल्दै आरोह अवरोह खेप्नुपरे पनि नेपाली काँग्रेसको नेतृत्व तहदेखि तलसम्मको ठूलो पङ्क्तिका कार्यकर्तामा यस्तो संस्कार अहिलेसम्म पुगेको देखिँदैन । उनीहरुमा त्यस्तो लोकतान्त्रिक संस्कृति अवलम्बन गर्ने कुनै उत्साह पनि भेटिँदैन । यसैकारण चुनाव जित्नका लागि सदस्यलाई समेत अनेक प्रलोभन दिने, आफ्ना जायज नाजायज कमाइको अङ्शलाई मत खरिदमा उपयोग गर्ने, तर्साउने, एकले अर्कोलाई पराजित गर्न अनेक अपसांस्कृतिक गठबन्धन र षड्यन्त्रात्मक शैलीका तानावाना बुन्ने, सम्मान गर्नुपर्नेलाई योग्यलाई बाटो खोल्नुको साटो केन्द्रीय सचिवालयलाई प्रभावित गरी आफ्ना पक्षमा मतदान गर्ने गरी सदस्यता भरमार बनाउने जस्ता अनेक विकृति नेपाली काँग्रेसको आन्तरिक जीवनमा देखिएका अत्यन्त खराब पक्ष हुन् ।
हाईफाई संस्कृतिले जरो गाड्दै भूईफुट्टाको वर्चस्व लोकतान्त्रिक दलमा विकास हुनुले लोकतान्त्रिक संस्कृतिका लागि अभ्यास गर्न अग्रसरसमेत निरास हुनुपर्ने देखिँदैछ । नेपाली काँग्रेसका संस्थापक एवं नेपाली राजनीतिका मूर्धन्य भाष्यकार बी.पी. कोइरालाले ०३६ सालमा भूईफुट्टा वर्गले राज्य प्रभावित भएको भन्ने क्रममा त्यस्तो भूईफुट्टा वर्गको राष्ट्र, राष्ट्रियता र लोकतन्त्र केहीमा पनि विश्वास नहुने, तिनीहरुको राष्ट्रिय चरित्र नहुने हुँदा उनीहरुको कुनै राष्ट्रियता नहुने विचार स्ष्टताकासाथ प्रकट गर्नुभएको थियो । नेपाली काँग्रेसकै जीवनलाई समेत सङ्केत गर्दै उहाँले भन्नुभएको थियो ः ‘प्रजातन्त्र प्राप्तिपछि सुकिला मुकिलाको वर्चस्व हुने हुनाले सही कार्यकर्ताले त्यसविरुद्ध उभिने साहस गर्नुपर्छ । ’ बी.पी. कोइरालाले जुन प्रसङ्गमा यस्तो विचार प्रकट गर्नुभएको भए पनि नेपाली काँग्रेस भने उहाँले सोचेजस्तो गरी लोकतान्त्रिक आचरण वरण गर्न सकिरहेको छैन । तैपनि नेपाली काँग्रेसले माघ १५ गतेदेखि आरम्भ गरेको आन्तरिक चुनाव, गाउँ तहदेखि केन्द्रसम्म गर्न लागेको अधिवेशनले लोकतन्त्रको बत्ती बाल्ने काम गरेको छ भनेर स्वीकार गर्नैपर्ने हुन्छ । यद्यपि गाउँ वा नगरका कुनै पनि अधिवेशनमा नेपाली काँग्रेसको आदर्श, सिद्धान्त, कार्यक्रम र रणनीतिसहित कार्ययोजना र सङ्गठन विस्तारबारे कुनै छलफल भएको सुनिएन । नेतृत्वमा कसलाई पु¥याउने र को नेतृत्वमा कसरी पुग्ने भन्ने बाहेक अरु विशेष चर्चा बहस केही पनि भएन । यतिखेर गाउँसम्मका कार्यकर्तालाई पार्टीले लिएको आदर्श, सिद्धान्त, कार्यक्रम, रणनीति, कार्य योजना तथा सङ्गठन विस्तारका विषयमा प्रशिक्षण गर्ने अवसर थियो गाउँसम्मको अधिवेशन तर नेपाली काँग्रेसको नेतृत्वले आवश्यकताबोध गरेन वा उसको दृष्टि पुगेन यसैकारण त्यतातिर केही भएन ।
नेपालमा वैकल्पिक लोकतान्त्रिक दलको आवश्यकता यतिखेर अझ आवश्यक भएको छ । यद्यपि नेपाल कम्युनिस्ट पार्टी एमाले भरपर्दो वैकल्पिक लोकतान्त्रिक दल भएर करिब पच्चीस वर्षयता सक्रिय छ । हिजो निर्दलीय निरङ्कुशताका पक्षधर र अहिले पनि परिवर्तनका विपक्षमा बस्ने कतिपय राजनीतिक दल पनि सतहमा देखिएका छन् । स्वयं सशस्त्र हिंसामार्फत जनवादी सत्ताका नाउँमा निरङ्कुश अधिनायकवादी शासनको सपना देखिरहेको र करिब दश वर्षसम्म क्रूर हिंसात्मक गतिविधिको प्रतिविम्बन भएको हालको नेकपा एमाओवादी पनि संसदीय धारमा लोकतान्त्रिक अभ्यासमा उत्रिएको छ । सात चिरामा विभाजित भएर पनि यसको मूल भने लोकतन्त्रको विकल्पका लागि तयार नहुनु सुखद् मान्नुपर्ने हुन्छ । केही अरु दल छन्, जो कुनै जातीय र कुनै अतिवादी क्षेत्रीय चिन्तनग्रस्त छन्, तिनीहरु पनि कुनै न कुनैरुपमा लोकतन्त्रका पक्षधर नै हुँदैछन् तर पनि नेपालमा भरपर्दो गरी लोकतान्त्रिक विकल्प देखापरेको छैन । नेपाली काँग्रेसको चुनावी पराजय वा असफलताले यसैकारण जहिले पनि लोकतन्त्रको विपक्षलाई स्थापित गर्ने हो कि भन्ने संशय पैदा गरिरहेको हुन्छ । अहिले माक्र्सवादलाई विस्मृतिको सपनाका रुपमा परिभाषित गर्दै माओवादी चिन्तन र माक्र्सवादका नवीन भाष्यकार मानिएका डा. बाबुराम भट्टराईले नयाँशक्तिका नाउँमा लोकतान्त्रिक दलको वैकल्पिक यात्रा आरम्भ गर्नुभएको छ । अनेक प्रश्न उहाँको त्यस यात्रालाई लिएर उठिरहेका छन् तर पनि एकदलीय अधिनायकवाद परित्यागको घोषणा गर्दै पूर्ण लोकतन्त्रको पक्षमा डा. भट्टराई उभिनु लोकतन्त्रका पक्षधर सबैका लागि उत्साहजनक छ । पच्चीस वर्षको आफ्नो लामो यात्रामा लोकतान्त्रिक अभ्यास गर्दै अनेकपटक शासनको बाग्डोर सम्हाल्न पुगेको नेकपा एमालेले अहिलेसम्म अन्तर्राष्ट्रिय झण्डादेखि कम्युनिस्ट नाउँको मोह परित्याग गर्नसकेको छैन । अहिले पनि नेपालको जय होस् भन्नुभन्दा अभिवादन भन्दा गौरव गर्ने र नमस्कार भन्दा मुठ्ठी वटार्ने कला एमालेमा यथावत छ । नेकपा माओवादी त लोकतान्त्रिक यात्रामा आएको एक दशक पनि पुगेको छैन । लोकतान्त्रिक अभ्यासको यात्रामा आएपछि माओवादी पार्टी अहिले सात चिरामा विभाजित भएको अवस्था छ । तर मुठ्ठी वटार्नेदेखि झण्डा, नारा र नामसमेत परिवर्तन गरी डा. भट्टराईले नयाँ अभियान थाल्नुलाई लोकतन्त्रमा पृथक अस्तित्वकासाथ विकल्प शक्ति दिने सम्भावनाका रुपमा नै बुझ्नुपर्ने हुन्छ ।
नेपाली काँग्रेसले आफ्नो लोकतान्त्रिक संस्कृतिको विकास गर्न नसकेमा र नेतृत्व दिने सामथ्र्य गुमाएमा लोकतान्त्रिक प्रणालीका लागि अर्को वैकल्पिक शक्ति अनिवार्य हुन्छ । नेपाली काँग्रेसको समेत यसमा दायित्व हुनुपर्ने हो । या त अरु राजनीतिक दललाई लोकतान्त्रिक विश्वासमा अग्रसर तुल्याउँदै भरपर्दो शक्ति हुन प्रेरित गर्ने अथवा नयाँ कुनै प्रयत्नलाई सहयोग र उसको समेत सहयोग लिँदै अगाडि बढ्ने साहस नेपाली काँग्रेसमा हुनु जरुरी छ ।
नेपाली काँग्रेसको तेह्रौँ महाधिवेशनले चुनावी यात्रालाई गाउँसम्म पु¥याए पनि उसका सामु लोकतन्त्रको वैकल्पिक शक्ति निर्माण गराउने भूमिकादेखि अनेक चुनौती छन् । पार्टीमा आन्तरिक लोकतन्त्रको स्थापनादेखि नेपालको आन्तरिक राज्य पुनःसंरचनाका सन्दर्भमा उठिरहेका मुद्दालाई ख्याल गर्दै नयाँ कार्यनीति विकास गर्ने, प्रशिक्षणविहीन पार्टी पङ्क्तिमा राजनीतिक चेतना विस्तार गर्ने, शिथिल सङ्गठनलाई सक्रिय गराउने, आजको परिवर्तित सन्दर्भमा अपरिभाषित र अस्पष्ट आदर्श, सिद्धान्त कायक्रम, रणनीति, योजना र सङ्गठन विस्तारलाई सशक्त तुल्याउने र पार्टीमा नयाँ पुस्ताको भर्ती जस्ता विषय काँग्रेस नेतृत्वका लागि चुनौती हुन् । गाउँ तहदेखि केन्द्रसम्म आउने नेतृत्वले आफूलाई तदनुरुप तयार बनाउने साहस र क्षमता देखाउनु आवश्यक छ ।

-पुरुषोत्तम दाहाल

 Leave a Reply

(required)

(required)


*