नयाँ शक्तिको उद्घोष र यथार्थ

gorkarna
संविधानसभाबाट नयाँ संविधान जारी भए लगत्तै एनेकपा माओवादीबाट र सांसद पदबाट समेत राजीनामा दिएर अलग हुनुभएका  डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा नयाँ शक्ति नामक पार्टीको विधिवतरूपमा घोषणा गरेसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ ।  उहाँले यसअघि नयाँ शक्ति अभियान सञ्चालन गर्दै प्रायः माओवादीमा काम गरेका र अवकाश प्राप्त पूर्व कर्मचारी, कलाकार, उद्योग व्यवसायीलाई आफ्नो अभियानमा मोर्चाबन्दी बनाउँदै आउनुभएको थियो ।  नयाँ सोच र चिन्तनका आधारमा पार्टी गठन भएको भनिए पनि पार्टी घोषणा गर्दाको तामझाम र प्रचार प्रसार भने पुरानै शैली र ढाँचाभन्दा भिन्न थिएन तर आइतबार काठमाडौँको दशरथ रङ्गशालामा भेला भएका मानिसको उपस्थिति आम समुदायको अपेक्षाभन्दा बढी नै भए पनि आयोजकको लक्ष्य अनुरूप एक लाख मानिस भने थिएन ।  पुरानै शैलीमा बसमा ‘अनलोड’ गरी मानिस भेला गरेर गरिएको तडक भडक हेर्दा र प्रायः केही अखबार बाहेक सबै अखबारमा ज्याकेट विज्ञापनसहित भट्टराईका तस्बिर र पार्टीको प्रतिबद्धता भरिएका देख्दा जुन जोगी आए पनि कानै चिरेका भनेझैँ देखिन्थ्यो ।  जतिसुकै आदर्शका कुरा गरे पनि अखबारको पुरै पेज ढाकिएको डा. भट्टराईको तस्बिर देख्दा लाग्यो– यो पार्टीको प्रमुख लक्ष्य व्यक्ति पूजा नै रहेछ ।  त्यसैले सामाजिक सञ्जालमा नयाँ शक्तिको स्वरूप, नयाँ बोतलमा पुरानो रक्सी आदि लेखिएको देखियो ।  यस्ता टिप्पणीको पनि कुनै न कुनै कुनाबाट समीक्षा र विश्लेषण त भइरहेकै होला ।  योसँगै नयाँ पार्टी खोल्नु पर्नाका कारण र उद्देश्य प्रस्ट्याइएको देखिँदैन ।  दुई दिनसम्म चल्ने बन्द सत्रले यस विषयमा स्पष्ट गर्ने नै होला ।  हुन त अबको निकास आर्थिक विकास, समृद्धि सम्भव छ हाम्रै पालामा भन्ने मूल नारासहित सुशासन र सदाचार, स्वाधीनता, सार्वभौमिकता, समतामूलक समृद्धि, समानुपातिक, समावेशी सहभागितामूलक लोकतन्त्र र समुन्नत समाजवाद हाम्रो प्रतिबद्धता भनेर उल्लेख गरिएको छ ।  यसका साथै यो पार्टी दुई वर्षभित्रमा वैकल्पिक शक्तिका रूपमा आउने दाबी पनि गरिएको छ ।
पार्टीबाट अलग भएपछि भट्टराई पार्टी सञ्चालन गर्नसक्ने क्षमता नभएका व्यक्तिका रूपमा समेत चित्रण गरिएको थियो ।  अन्तरमुखी स्वभावका भट्टराई पार्टीबाट बाहिरिँदाको अवस्था यस्तै पनि थियो ।  एमाओवादीमा प्रचण्डपछिको दोस्रो तहमा रहनुभएका उहाँले पार्टीबाट अलग हुँदा त्यस्तै स्वभाव प्ुष्टि गर्नुभयो, एक्लै पार्टीबाट अलग रहेको घोषणा गरेर ।  उहाँले आफ्ना टोलीका कतिपय विश्वास पात्र भनिएकालाई समेत सँगै लैजान सक्नुभएन वा यो रणनीति थियो त्यो स्पष्ट हँुदै जानेछ ।  ‘मन्त्री र सांसद पद जोगाउन’ भट्टराई नजिकका कतिपय नेता अहिले पनि माउ पार्टीमै रहेको भए पनि तिनीहरू नयाँ शक्ति अभियानमा आउने विश्वास एकथरिमा रहेको पाइन्छ ।  यस हिसाबले हेर्दा नयाँ शक्तिमा पूर्व माओवादीहरूकै बाहुल्यता रहने देखिन्छ ।  हालसम्म यस शक्तिमा जोडिन आएका अन्य पार्टी, समूह र व्यक्तिको अवस्थाले पनि यही तर्कलाई बल पु¥याउँछ ।  कुनै पनि पार्टीका प्रभावशाली व्यक्तिको उपस्थिति नरहेकाले पार्टी भट्टराईको सोच र विचारबाट अघि बढ्ने कुरामा भने कुनै शङ्का छैन ।  अब भट्टराईमा देशलाई समृद्ध बनाउने सोच र योजना के के छन् र तिनको कार्यान्वयन कसरी गर्न सक्नुहुन्छ, हेर्न बाँकी नै छ ।  पार्टीको पहिलो व्यक्ति हुने रहरमा यो गठन भएको हो भने देशमा दर्ता भएका १८० वटाभन्दा यसको चरित्र पनि भिन्न हुने छैन ।  त्यसैले नेपालका नेताले राजनीति गर्न जानेका छन्, विकास गर्न जानेका छैनन् भनेर भन्ने गरिएको होला ।  २००७ सालदेखि हालसम्मको अवस्थालाई हेर्दा देशको विकासप्रतिको दूरगामी सोच बीपी कोइराला बाहेक कुनै पनि नेतामा रहेको सायदै पाइएला ।  अहिलेसम्मको राजनीतिले योजना र खाका विनाका विकासका कुरा गरेर देशलाई अलमल्याउने काम गरिरहेको छ ।  यसैकारण साधन स्रोत भएर पनि हामी कमजोर राष्ट्रका रूपमा दरिँदै छौँ ।  नयाँ शक्ति पार्टी पनि राजनीतिक उद्देश्यले मात्र प्रेरित भएर खडा भएको हो भने यसले पनि अन्य विशेष चरित्र देखाउन सक्ने छैन ।
पार्टी पार्टीबीच र आन्तरिक द्वन्द्वमा समय बिताउने राजनीतिक संस्कार विकसित हुँदै जान थालेको सन्दर्भमा डा. भट्टराई मात्र त्यसबाट अछूत रहेर आफ्नो मिसन र भिजनलाई लागू गर्न सफल हुनुहोला भन्ने अवस्था र आधार देखिँदैन ।  भट्टराईले विगतमा देशलाई रूपान्तरित गराउने योजना तय गर्ने जिम्मेवारी नपाएको होइन ।  देशको अर्थ र प्रधानमन्त्रीसमेत भएर उहाँले तय गरेका नीति र कार्यक्रम कस्ता थिए वा तिनको कार्यान्वयन कुनरूपमा अघि बढ्न सक्यो भनेर समीक्षा पनि त हुनुपर्ला ।  त्योसँगै नयाँ पार्टी गठन गरेपछि जनयुद्ध कालमा उहाँको नेतृत्व कालमा हत्या हिंसाको जिम्मेवारी लिनुपर्छ कि
पर्दैन ? सस्तो लोकप्रियताको कुराले मात्र जनताको जीवनमा परिवर्तन आउन सक्दैन ।  साँच्चै पार्टीको अङ्कुशमा परेर काम गर्न नसकेर आफ्ना विकासप्रतिका लक्ष्य र उद्देश्य पूरा गर्नैका लागि नयाँ पार्टी गठन गरिएको हो भने पक्कै पनि भट्टराईको भिजनअनुसारको विकास र परिवर्तन सम्भव होला, होइन पुष्पकमल दाहाल प्रचण्डको पेलाइमा परेर वा पार्टीको पहिलो व्यक्ति हुने रहरमा नै खडा भएको हो भने पछिल्लो अभिष्ट चाहिँ पक्कै पनि पूरा हुनेछ ।  मुलुक धेरै किसिमका अभावमा रहेका बेला यहाँ राजनीति गर्न कठिन छैन ।  जनतालाई भाषण र आश्वासनमा बचाइ राख्न सक्ने दल र नेताको नेपालमा कमी छैन ।
यतिबेला डा. भट्टराईको यो अभियानप्रति सकारात्मक सोच र दृष्टिकोण पनि बनेको छ ।  मध्यम वर्गीय परिवारका व्यक्ति भएकाले उहाँले देश दुनियाँ बुझ्नुभएको छ, देशको आवश्यकता के हो र यसलाई कसरी परिवर्तन गर्न सकिन्छ भन्ने योजना उहाँसँग छ तर यहाँनेर द्विविधा राख्न नपर्ने ठाउँ के छ भने उहाँसँग मुलुकलाई समृद्धि गराउने योजना, खाका र ऊर्जाशक्ति होला तर उहाँले नेतृत्व गरेको टिममा त्यो शक्ति र तागत छ कि छैन वा हुन्छ कि हुँदैन ? प्रधानमन्त्री भएका बेला आफूले मुस्ताङ म्याक्स गाडी चढेर अघिपछि प्राडो र पजेरोको लस्कर लगाएजस्तै एक भट्टराईले मात्र आफूलाई परिवर्तन गरेर हुन्छ
के ? नेतृत्वले त सबैलाई आफू अनुकूल रूपान्तरित गराउन सक्नुपर्छ ।  आफ्नो समूहलाई नै परिवर्तन गराउन नसक्नेले देशलाई कसरी परिवर्तन गराउन सक्छ ? अहिलेको टिमबाट त्यो सम्भव छ कि छैन ? कतिपय कर्मचारी पूर्व प्रशासक र अवकाश लिने अवस्थामा पुगेका मानिस पनि छन्, तिनले पार्टीलाई नयाँ सोच र विचार दिन सक्छन् भन्ने प्रश्न पनि छ ।
यो पार्टीलाई दक्षिणी छिमेकीको आड र इशारामा खडा भएको चर्चा पनि चलाइएको छ ।  राजनीतिमा डा. भट्टराईलाई त्यो वृत्तमा राखेर हेर्ने गरेको पनि पाइन्छ ।  नेपालको राजनीतिमा दक्षिणको स्नेह नलिई राजनीति गर्ने दल र नेता कमै भेटिएलान् तर चिलले कुखुरा लग्यो भनेर हल्ला गर्दै कुखुरा टिपेर हिँड्ने स्याल प्रवृत्तिको प्रभाव नेपालको राजनीतिमा बढ्ता नै छ ।  दिनभरि गाली गर्ने र साँझ परेपछि दूतावास छिर्ने राजनीतिक संस्कार नै बनिसकेको अवस्थामा यस्ता आरोपको त कुनै अर्थ रहँदैन ।  फेरि अहिलेको यत्रो विश्वव्यापीकरणको अवस्थामा कुन दल र व्यक्तिको कोसँग नाता सम्बन्ध र बसउठ छ भनेर हेर्नुभन्दा पनि त्यो दल र व्यक्तिले मुलुकको हितमा काम गरेको छ कि छैन हेरिनुपर्छ तर नयाँ शक्ति पार्टी कुनै शक्तिको इशारामा मात्र खडा भएको हो भने यसको अन्तिम अभिष्ट सत्ता राजनीति बाहेक केही हुने छैन ।  नेपालमा धेरै वामपन्थी पार्टीहरू सत्ता सङ्घर्षका लागि फुटेका छन्, विभाजित बनेका छन् ।  शान्ति प्रक्रियापछि यत्रो जनयुद्ध गरेको भनेको पार्टी नेकपा माओवादी पाँच समूहमा विभाजित भएबाट नै स्पष्ट हुन्छ ।  यतिबेला ती विभाजित केही दल जोडिएका पनि छन् ।  डा. भट्टराई पनि त्यही शक्तिबाट अलगिएका हुनाले यो भोलि कुनै पार्टीसँग एकीकरण गर्न नपुग्ला भन्न सकिन्न ।  नेपालको राजनीतिमा आफूलाई शक्तिमा राख्न दलबीच यस किसिमका गतिविधि भइरहेका छन् र पछि पनि हुनसक्छन् ।  यो अन्यथा मान्ने विषय पनि हुने छैन ।  भट्टराईको पार्टीको प्रमुख ध्येय पनि सत्ता र शक्तिको मात्र हो भने यो पनि पुरानो बोतलमा नयाँ रक्सी सिवाय केही हुने छैन ।

गोकर्ण अर्याल