दुर्घटनाग्रस्त विमान उद्धारमा कठिनाई, १७ जनाको शव प्राप्त

पोखराबाट जोमसोमका लागि उडेको तारा एअरलाइन्सको  विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस–२ स्थित tara airसोलीघोप्टे भीर वरपर बाक्लो हुस्सु लागेका कारण उद्धारमा कठिनाइ भइरहेको छ । दुर्घटनास्थलमा हाल नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुले शवहरु स‌ंकलन गरिरहेका छन् । हालसम्म १७ जनाकाे शव भेटिएकाे छ ।

प्रतिकूल मौसमका कारण दुर्घटनास्थलमा उद्धारका लागि पुगेका दुई वटा हेलिकप्टर अवतरण हुन् सकेका छैनन् । नेपाली सेना तथा निजी क्षेत्रको अर्को हेलिकप्टर दुर्घटनास्थल वरपर अवतरणको प्रयास गरिरहेका छन् । तर बाक्लो हुस्सु लागेका कारण अवतरण गर्न मुस्किल भइरहेको छ ।

अहिले दुर्घटनास्थलमा दाना प्रहरी चौकीबाट गएका प्रहरी जवान फूलकुमार थापा र स्थानीय चारजना बासिन्दा रहेका छन् । प्रहरी नायब उपरीक्षक विश्वराज खड्काका अनुसार प्रहरी जवान थापाले विमान दुर्घटना भएको खबर गरेका थिए ।

सदरमुकाम बेनीबाट गएको खड्कासहितको टोली अहिले दाना गाविस–२ काभ्रे जङ्गल पुगेको छ । उक्त ठाउँ विमान दुर्घटना भएको ठाउँदेखि एक घण्टा वर रहेको छ ।

प्रहरी जवान थापाका अनुसार विमानमा आगो लागेको र शव टुक्रा÷टुक्रा भएर छरिएर रहेका छन् । सग्लो नभएका कारण शव चिन्न सकिने अवस्थामा छैनन् । दुर्घटनाको खबर पाएलगत्तै आज बिहानै डिएसपी खड्का, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक र केही सञ्चारकर्मीसहितको टोली घटनास्थलतर्फ गएको छ ।

अहिले मुस्ताङबाट आएको नेपाली सेनाको टोलीसमेत घटनास्थलतर्फ गइरहेको छ । सेनाको टोली मुस्ताङको लेते गाविसस्थित घाँसासम्म हेलिकप्टरमा र त्यहाँबाट पैदल घटनास्थलतर्फ गइरहेको बताइएको छ । बाक्लो कुइरो लागेका कारण विमान पहाडमा ठोक्किएको हुनसक्ने अनुमान गरिएको छ ।

बिहान ७।५० बजे जोमसोमका लागि उडेको विमान केही समयमै सम्पर्कबिहीन भएपछि नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टी मार्फत खोजी सुरु गरिएको थियो ।

नागरिक उड्डयन कार्यालय पोखराका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार विमानमा कास्कीका रेवती बराल र मुक्तिनाथ वास्तोला, मुस्ताङ्की विनिता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन, लक्ष्मी हिराचन, र कान्छा परियार रहेका थिए ।

त्यस्तै, अन्य यात्रुमा मोतीबहादुर केसी, पासाङ लामा, बालकृष्ण न्याउरे, डोल्मा तासिङ शेर्पा, राजकुमारी तामाङ, कमला थकाली, चिनियाँ नागरिक माक्सुइद, कुवेतका अहमद रसिद रहेका छन् भने दुईजना बालबालिकाको नाम खुलेको छैन । चालक दलका क्याप्टेन रोशन मानन्धर, सह क्याप्टेन दिकेस नेम्कुल र परिचारिका रमा रावत रहेका छन् ।