छिटो इयु छोड: इयुका संस्थापक राष्ट्रहरु

इयुका संस्थापक सदस्य राष्ट्रहरुले ब्रिटेनले ऐतिहासिक जनमतसंग्रहको परिणाम पछि इयु छोड्ने वार्ता तीब्र गतिमा गर्न आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ । जर्मन विदेश मन्त्री फ्र्यांक वाल्टर स्ट्यानमायरले भने, “संझौता वार्ताहरु जति सक्दो छिटो शुरु हुनुपर्छ।”

ब्रिटेनको निर्णयबारे छलफल गर्न छ वटा संस्थापक सदस्यहरुबीच आयोजना गरिरएको आपतकालीन बैठकपछि उनले उक्त टिप्पणी गरेका हुन्। ब्रिटिश प्रधानमन्त्री डेभिड क्यामरनले उनका उत्तराधिकारीले संझौताहरु गरुन् भनेर अक्टोबार सम्ममा आफु बाहिरिने बताएका छन्।

बर्लिनमा भएको बैठकमा जर्मनी, फ्रान्स, इटली, बेल्जियम, लक्जमबर्ग र नेदरल्याण्ड सहभागी थिए। यी छ वटा मुलुकहरु सन १९५० ताका नै यो शक्तिमा समाहित भएका थिए र अहिले पनि इयुको मुख्य देशका रुपमा रहेका छन्।

स्ट्यानमायरले भने, “संझौतावार्ताहरु तत्काल गर्न अत्यावश्यक छ किनभने सदस्य राष्ट्रहरु युरोपको भविष्यबारे केन्द्रित हुन आवश्यक छ।” ब्रिटिश प्रतिनिधि बिनाको पहिलो इयु शीखर सम्मेलन बुधबार डाकिएको छ। त्यसको अघिल्लो दिन ब्रिटिश प्रधानमन्त्री क्यामरनले इयुका सदस्यराष्ट्रहरुसँग बैठक गर्दैछन्।

विश्वव्यापी स्टक बजार ब्रेक्जीट पछि स्वाट्टै तल झरेको छ । ब्रिटेनमा भएको जनमतसंग्रहमा इयु छोड्ने र नछोड्ने पक्षको क्रमश ५२ र ४८ प्रतिशत मत आएको थियो। यूकेले इयुबाट बाहिरिन लिसबन सन्धीको धारा ५० सक्रिय बनाएर दुइ वर्षभित्र विभिन्न सझौताहरु गर्नुपर्नेछ।