Apr 092016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

बागलुङ शब्दको उत्पत्ति बाघलाई मार्ने वा मास्ने अर्थमा भएको भन्ने उल्लेख छ । कुनै समयमा बाघको बिगबिगीले जनजीवन भयावह र कष्टकर हुँदै जाँदा मगरातीका बलिया व्यक्तिको समूहले बाघलाई छेद्ने वा मार्ने गरी बाघलाई मास्ने उद्देश्यले कार्य गरेको हुँदा यसैको आधारमा ब्याघ्रलुज, ब्याघ्रलु, ब्याघ्रलुञ हुँदै बागलुङ नाम रहन गएको भन्ने भनाइ छ । तिब्बती भाषाको व्याकरणमा बागको अर्थ कही केही भाग उठेको र केही केही भाग मैदान वा समथर भन्ने बुझाउँछ । यस्तै भौगोलिक बनोट भएको हुँदा पहिले पहिले आउने तिब्बतीले उनीहरूकै व्याकरण मुताविक नाम राखेकोे हो पनि भनिन्छ ।
नेपालका प्रसिद्ध देव देवालयमध्ये बागलुङ कालिका भगवतीको मन्दिर पनि एक हो । पश्चिमाञ्चलको प्रसिद्ध पीठ बागलुङ कालिका हो । समस्त हिन्दुको आस्थाको केन्द्रका एवं शक्तिको स्रोतका रूपमा रहेकी कालिका भगवतीको आराधना गर्नाले शक्ति एवं बरदान पाइन्छ भन्ने हिन्दु धर्माबलम्बीमा प्रगाढ विश्वास पाइन्छ ।
भनिन्छ, वि.सं. १५९० तिर राजा प्रतापी नारायणले राज्य सम्हालेपछि पाल्पाली राजा मुकुन्द सेनकी छोरीसँग विवाह गरेका थिए । पाल्पाली राजाले छोरीलाई कालिका देवीको मूर्ति दाइजो दिएर पठाए । यसै समयदेखि बागलुङ कालिको स्थापना भएको पाइन्छ । हाल यो मूर्ति बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारको नजिक काठे खोलाको दोभाननिर एउटा हात्ती सुँडे आकारको रमणीय बनमा निर्मित मन्दिरमा कालिका भगवतीका नामले प्रसिद्ध छ । पाल्पाबाट देवीका साथ खड्ग समाती आएका खड्का क्षेत्रीलाई पुजारी बनाएका थिए । यो क्रम करिब ४७५ वर्ष जति चल्यो । हाल
महाँ अष्टमीमा हुने विशेष पूजा खड्काहरूले नै गरे पनि नित्य पूजाको जिम्मेवारी ब्राह्मणलाई दिइएको छ । पुजारीलाई तलब गुठीबाट उपलब्ध हुन्छ ।
हिन्दु धर्म संस्कृतिमा वर्षमा एक पटक मनाइने चाडपर्व धेरै छन् । दशैं भने हामीले वर्षको दुई पटक मनाउँंछौं – चैतमास पर्ने चैते दशैं र असोजमा पर्ने बडादशैं । उहिल्यै चैते दशैं नै धुमधाम गरी मनाइन्थ्यो । वातावरणको अनुकूलतालाई हेरेर पछि असोजमा बडादशैं मनाउन थालिएको हो भनिन्छ । अष्टमीमा देवीका पीठमा पशु पंक्षी बली दिने, चेलीबेटी जम्मा हुने खाने रमाइलो गर्ने चलन छ । राम नवमीमा दिनमा उपवास बसी रामको पूजा आराधना गरिन्छ । बडा दशैं आश्विन शुक्ल प्रतिपदाका (घटस्थापनाका) दिनदेखि सुरु भएर दशमीसम्म नवदुर्गाको पूजा हुन्छ । कालारात्रि पूजा पछि बलि दिइँदैन ।
बागलुङ कालिकाको मन्दिरमा नित्य नैनित्य पूजा हुन्छ । मन्दिरको तर्फबाट वर्षको दुईपटक चैते दशैं र बडा दशैंमा पञ्च बलि दिइन्छ । शनिबार, मङ्गलबार र अष्टमी तिथिमा पूजा गरी पशु बली दिइन्छ । श्रावण र कात्तिकमा पशु बली दिइँदैन ।
यहाँ भाकल गर्नेले पूरा भएपछि पूजा गर्न जाने चलन छ । भाकलमा प्रायः बोका, हाँस, परेवा चढाइन्छ । बली नदिनेले देवीका नाममा परेवा उडाउने, रोट (एकोहोरो पकाएको मोटो रोटी) चढाउने र नरिवल फुटाउने गर्छन् । चैत्र शुक्ल सप्तमीदेखि दशमीसम्म विशेष मेला लाग्छ । यहाँ बडा दशैंैमा भन्दा चैते दशैंैमा बढी रमाइलो हुने हुँदा भक्तजनको घुइँचो लाग्छ । देश तथा विदेशबाट दर्शनार्थी आउने गर्छन् । अष्टमीका दिनमा स्थानीय बिदा हुन्छ । लोकसंस्कृतिको धनी यो क्षेत्रमा प्रसिद्ध यहाँको चैतेदशैं मेला लोसंस्कृति मेलाकै रूपमा देखिन्छ । बुढापाका “एउटा पैसो कहिलेलाई, चैते दशैं बागलुङ बजारलाई…” भनी गीत गाउँथे ।
पहिले यातायातको सुविधा थिएन । घण्टौं पैँदल हिँडेर मेलामा जानेले आवश्यक सामान लत्ता कपडा, चुरापोतेलगायतका सौभाग्यका सामान, पकवान बाँसको चोयाबाट निर्मित समानको बजार गर्दथे । बागलुङ डाला नाङ्लाका लागि प्रख्यात मानिन्छ ।
अहिले झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बागलुङ जिल्लामा अन्य धार्मिक मठ मन्दिर तथा पर्यटकीय ठाँंउ पनि प्रशस्त छन् । भैरवस्थान, जैमिनेश्वर, शिव मन्दिर, ढोरपाटन, ताल बाराह, रामकोट मन्दिर, थन्थापी माई, देवीस्थान मन्दिर, शिवालय, सत्यवती आदि देवी देवताका मठ मन्दिर छन् । यिनका अलावा चमेरे गुफा, ल्वाङ खेत, गाजादह धुरी, संसारकोट, घुम्टेको लेक, भकुण्डे धुरी, हांँडीकोट धुरी, शिव धुरी, पाञ्जाकोट धुरी, घोडा बाध्ने आदि यहाँका महìवपूर्ण प्रर्यटकीय स्थान हुन् ।
बागलुङ पुग्ने बाटो पैदल यात्राका लागि प्रशस्त गोरेटो, घोडेटो बाटा छन् । जिल्लामा एक ठाँउबाट अर्को ठाँउमा पुग्ने थुप्रै कच्ची सडक छन् । बजार सफा चिटिक्क परेको सुन्दर देखिन्छ । पहिले वस्तु ढुवानीको मुख्य साधन खच्चर थियो । काठमाडौँ वा नेपालका अन्य सहरबाट बागलुङ, रुटका ठूला तथा साना, बस चल्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई मार्ग हुँदै जाने आउने यात्रुका लागि जिल्लामा भएका ढोरपाटन र बलेवा नारायणस्थानका विमानस्थल वर्षैदेखि बन्द भएका छन् ।
कालिकालगायत बागलुङ जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटनका लागि अत्यन्त महìवपूर्ण स्थानलाई समेटेर रु पाँच करोडको गुरुयोजना सुरु गरी पर्यटन विकासका पूर्वाधार निर्माण गर्दै जाने योजना रहेको छ । पर्यटकीय स्थलमा सुरक्षित, खान बस्नका लागि होटल, लज छन् । भकुण्डेमा मात्र होमस्टे रहेकोले अन्य ठाँउमा विस्तार गर्ने योजना छ । पोखरा बलेवा द्रुतमार्ग खोल्ने र ढोरपाटन क्षेत्र पर्यटक मैत्री बनाउन योजना लागू गरेर पर्यटन क्षेत्रलाई उचाइमा पु¥याउने लक्ष्य रहेको बागलुङ जिल्लाका स्थानीय विकास अधिकारी भरत गौतमको भनाइ छ । उहाँका अनुसार म्याग्दी, पर्वत र बागलुङको त्रिपक्षीय वार्तालाप गरी कालिगण्डकीमा भइरहेको ¥याफ्टिङ व्यवसायलाई व्यापक र व्यवस्थित गर्ने उद्देश्य रहेको छ ।

-सरस्वती पन्त

 Leave a Reply

(required)

(required)


*