गैरनेपाली नागरिकलाई बाँडिएको नागरिकता फिर्ता गर्नु पर्छ: भूमिसुधार सहायक मन्त्री श्रेष्ठ

भूमिसुधार तथा व्यवस्था सहायक मन्त्री दिनेश श्रेष्ठले विगतमा ४० लाख गैरनेपालीलाई बाँडिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने बताएका छन ।

सूर्यविनायक नगरपालिकाले सोमबार  आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ नगरस्तरीय प्रचार अभियानमा उनले  मधेशमा जारी आन्दोलन नेपाली नागरिकता लिने गैरनेपालीले उठाएको जिकिर गर्दै भने – “पहिला ४० लाख गैरनेपालीलाई नेपाली नागरिकता दिँदा तराई आन्दोलनका नाममा दशगजा कब्जा भएकोे छ, यही सरकारले गैरनेपालीलाई दिइएको नागरिकताको छानबिन गरेर नियम विपरीत बाँडिएका त्यस्ता नागरिकता फिर्ता गर्नुपर्छ ।”

मधेशकेन्द्रित दललाई लक्ष्य गर्दै सहायक मन्त्री श्रेष्ठले भने – “आन्दोलन गरेर जनतालाई दुःख दिएर होइन, जनतामाझ गएर जनताकै दुई तिहाइ मतबाट आफ्नो एजेण्डा स्थापित गर्नुस् ।”

 

नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले संविधानबारे जनतालाई जानकारी दिन र जनताको मनमा रहेको भ्रम चिर्न यस प्रकारको प्रचार कार्यक्रमले निकै टेवा पुग्ने बताए ।