कुस्मामा नेपालकै लामो झोलुङ्गे पुलको निर्माण शुरु

कुस्माको बड्गाउँबाट मुडिकुवा जोड्ने यो झोलुङ्गे पुल मुलुककै सबैभन्दा अग्लो कालीगण्डकी नदीमा बनेको बड्गाउँ कैया झोलुङ्गे पुलभन्दा मात्रै ३० सेमि होचो छ । यो पुल अहिलेसम्म निर्माण भएका पुलमध्ये सबैभन्दा लामो हुने बताइएको छ । यो पुल ३५९ मिटर लामो हुने स्थानीय पुर्वाधार तथा कृषि सडक बिभागले जनाएको छ ।

विभागले दिएको जानकारी अनुसार कुल रु. एक करोड ७६ लाखको लागतमा निर्माण हुने यो पुल २०७३ साल भदौ मसान्तसम्ममा सक्ने लक्ष्य राखिएको छ ।पुल निर्माण कार्य तोकिएकै अवधिमा सम्पन्न गर्ने लक्ष्यसहित काम शुरु गरिएको ठेकेदार कम्पनी मुक्तिनाथ एण्ड श्री गीता जेभिका प्रोपाईटर ओम गौचनले बताए ।

पर्वतको महत्वपूर्ण कृषि तथा व्यापारिक केन्द्रका रूपमा रहेको फलेबाससम्म पुग्न अहिले बड्गाउँबाट एक घण्टा पैदल जानुपर्छ भने दोबिल्ला फलेबास सडकबाट जाँदा १३ किलोमिटर कच्ची सडकको दूरी पार गर्नुपर्छ ।

झोलुङ्गे पुल निर्माणपछि कुस्मादेखि मुडिकुवा जान १० मिनेट समय लाग्नेछ ।

अग्ला झोलुङ्गे पुलको शहर बन्दै गएको कुस्मामा पुल हेर्न आउने आन्तरिक पर्यटकको भिड नै लाग्ने गरेको छ । बागलुङ्गको बलेवा क्षेत्र जोड्नलाई बनेको मुलुककै सबैभन्दा अग्लो कुस्मा–कैया झोलुङ्गे पुलबाट जम्मा एक सय मिटर नजिकै यो पुलको निर्माण थालिएकाले थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

कुस्मा–कैया झोलुङ्गे पुल १५९ मिटर अग्लो र ३४७ मिटर लामो छ । यी दुई पुलभन्दा एक किलोमिटरमाथि ३४४ मिटर लामो र १३५ मिटर अग्लो कुस्मा–ज्ञादी झोलुङ्गे पुल निर्माण भएको छ ।

उक्त पुलको पूर्व प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार शिलान्यास गरे ।शिलान्यास गर्दै कोइरालाले नेपालमा जलस्रोत, पर्यटन र कृषिको राम्रो सम्भावना रहेको बताए । विकास निर्माणका लागि मुलुकमा स्थायित्व र शान्ति आवश्यक भएको बताउँदै पूर्व प्रधानमन्त्री कोइरालाले यसका लागि सबैले एक जुट भएर समस्या समाधानका लागि लाग्न आग्रह समेत गरे ।