काभ्रे बस दुर्घटनामा मृतकको संख्या ३३ पुग्यो

काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा सोमवार  दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको  छ ।kabhre

दुर्घटनामा ४३ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र २८ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाडौँ ल्याइएको छ । उनीहरुमध्ये १८ जनाको ट्रमा सेन्टर काठमाडौँ र १० जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको प्रहरीले जनाइएको छ ।
घटनास्थल अत्यन्त भिरालो भएका कारण लाशलाई माथि सडकमा ल्याउन समस्या भई रहेको छ । साथै घटनस्थलमा पानी परी रहेकाले पनि उद्धारमा समस्या भएको छ ।
सो बस ओभर लोडका कारण दुर्घटना भएको अनुमान गरिएको छ । सो क्षेत्रमा भूकम्प पीडितलाई राहत रकमको सम्झौताको काम भई रहेकाले राजधानीमा रहेका धेरै स्थानीय सोका लागि घर फकर्ने क्रममा बस खचाखच भएको बताइएको छ ।