Dec 032015
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

चेलीबेटी, बेचबिखन, गाइने जीवन र त्यसभित्रको गरिबी, अपाङ्गता भएकाको पीडाजस्ता गहन विषयलाई कथावस्तु बनाए पनि प्रस्तुति फिका भइदिँदा नाटक ‘कथा सारङ्गी गाउँको’ हल्का देखिएको छ ।katha mitho sarangfi ko

जीवन जिउनका लागि सारङ्गी रेट्नैपर्ने बाध्यता भएकाहरु गाइने समुदायका बौद्धिक अपाङ्गता भएको एक छोरा र बेचिएकी छोरीका बाबुआमाको वरिपरि कथा घुमेको छ । गरिबीले रुमल्लिएका बाबुले जुवामा रु दुई हजार हारेपछि छोरीलाई अर्कैको हातमा सुम्पिदिन्छन् । उनकी छोरी विदेशमा बेचिन्छिन् ।

काठमाडौँमा सारङ्गी रेटेर केही आम्दानी गर्ने बाबुले दसैँमा काटेर खान भनी सुँगुर लैजान्छन् । अपाङ्गता भएको छोरो दसैँमा सुँगुरको मासु खान पाइन्छ भनेर निकै खुसी हुन्छ । त्यसैबेला छोरीको चिठ्ठी आउँछ । चिठ्ठीमा उनले आफू बेचिएको सिधै नभने पनि अब गाउँ फर्कन नसक्ने आशय व्यक्त गरेकी हुन्छिन् । भोलिपल्ट छोरी बेच्ने व्यक्ति अगाडि आउँदा पनि बाबुआमा केही नराम्रो भन्न सक्दैनन् बरु उल्टो आफ्नो पैसा फिर्ता नदिएको भन्दै त्यस व्यक्तिले कुटपिट गरी सुँगुर लैजान्छ । सोही विवादमा आमा चाहिँ बाबुलाई छाडेर अर्कै व्यक्तिसँग घरजम गर्न हिँडिदिन्छिन् । अन्तिममा बाबुले अपाङ्गता भएको छोरालाई मेरो सम्पत्ति भन्नु नै यही सारङ्गी हो भन्दै सुम्पन्छन् र अन्तिम सास लिन पुग्छन् । त्यसैबेला एक बटुवा आएर कलमको महत्व बुझाउँछन् र नाटक सकिन्छ ।

एक घन्टा १५ मि लामो नाटकको कथा राम्रो भए पनि ससाना कुरालाई बेवास्ता गरिँदा त्यसले कथाको राम्रो पक्षलाई ओझेल पारेको छ । विसं २०५६ को पृष्ठभूमि लिइएको भए पनि कलाकारको पहिरन, शृङ्गारले समसामयिकता देखाएको छैन । गरिब परिवारको कथा लिए पनि आमाको पहिरनले कुनै खान्दानी महिलाको झझल्को दिएको छ । उनको कपाल, श्रृङ्गार भने आधुनिक महिलाको जस्तो भएकाले नाटकमा उनको चरित्रमा मेल खाएको देखिँदैन । कथा अगाडि बढिरहँदा तीन पाने झोल अर्थात् रक्सीको कुरा आएको छ । तर बोतल भने ‘बियर’ को देखाइएको छ ।
छोरीको चिठ्ठी पढिरहँदा माथिपट्टि छोरीको सारी तान्दै गरेको एक अर्धनग्न पुरुषलाई देखाइन्छ, जुन नाटकमा आवश्यक छैन । पृष्ठभूमिमा पर्दामा देखाउन मिल्ने खालका दृश्यले त्यसरी देखाउँदा यसले अश्लीलता प्रदर्शन गरे झँै लाग्छ । घरमा छरछिमेक वा गाउँले भेट्न आउँदा बेवास्ता गरिँदैन तर नाटकमा पहिला बेवास्ता गर्ने र पछि काम लाग्ने रहेछ भन्ने जान्नेबित्तिकै उसको मानसम्मानमा लाग्ने प्रवृत्ति देखाइएको छ जुन त्यति यथार्थपरक छैन । सानो कुरामा श्रीमान्श्रीमतीबीच झगडा गर्दैमा अपाङ्गता भएको छोरो, घरलाई छाडेर प्रौढावस्थामा पुग्न लागेकी महिला अर्को श्रीमान् खोजेर जानु त्यति राम्रो लाग्दैन । अन्तिममा कलमको महत्व बुझाउन एक बटुवा आइपुग्छ यसले कथालाई जर्बजस्ती लम्ब्याउन खोजेको जस्तो मात्र देखिएको छ, जुन कथाले मागेको छैन ।

नाटकको लेखन तथा निर्देशन गरेका किशोर अनुरागले अपाङ्गता भएको छोराको भूमिका निभाएका छन् । उनको अभिनयले केही दृश्यमा दर्शकलाई रुवाएको छ । नाटकको पृष्ठभूमिमा सारङ्गी र बाँसुरी बजाउँदै कथालाई वाचन गर्ने सुमन विष्टको भूमिका पनि राम्रो छ । तर नाटकमा बटुवाको भूमिकामा देखिएका राज थापा र छोरीको भूमिकामा रहेकी सरिता बराइलीको भूमिका भने अनावश्यक देखिन्छ ।

नाटकमा बाबुको भूमिकामा अशोक शिवाकोटी, आमाको भूमिकामा रिता थापाका साथै अन्य भूमिकामा कलाकार महावीर विश्वकर्मा, आइपी आचार्य, आशिष खत्री, पुर्खाजित राई, राजीव तामाङले अभिनय गरेका छन् । काठमाडौँ मलस्थित थियटर मलमा शुक्रबारदेखि चलिरहेको सो नाटक मङ्सिर २६ गतेसम्म चल्नेछ । रासस

 Leave a Reply

(required)

(required)


*