Aug 212016
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

डा. विनय श्रेष्ठ ,  कोपेनहागेनको नवौं एनआरएनए यूरोपेली क्षेत्रीय बैठक र सातौं क्षेत्रीय सम्मेलनको राग मेटिन नपाउँदै binaya shresthaगैर-आवासीय नेपालीहरु अमेरिकाको न्यूजर्सीमा यही हप्ता भेला हुँदैछन् । यो भेला एनआरएनएका अन्य भेलाहरूभन्दा पृथक रहने संकेत यसको नाराले नै झल्को दिइसकेको छ ।

अमेरिकाको न्यूजर्सीमा यही अगष्ट २७ र २८ मानवौं एनआरएनए क्षेत्रीय सम्मेलन हुन लागेको हो । गैर-आवासीय नेपाली संघले आफ्नो संस्थागत संरचनालाई मजबुद बनाउँदै आफ्ना उद्देश्य र लक्ष्यहरु हासिल गर्न नियमित रुपमा विविध संस्थागत बैठक, सभा र सम्मेलनहरु सञ्चालन गर्दै अएको छ। संघको विश्व सम्मेलन, अन्तर्राष्ट्रिय महाधिवेशन र क्षेत्रीय सम्मेलनहरु प्रत्येक २ वर्षमा र क्षेत्रिय बैठकहरु हरेक वर्ष आयोजना गर्ने गरिएको छ। यसै सिलसिलामा न्यूजर्सीमा क्षेत्रीय सम्मेलनको आयोजना भएको हो।

हरेक विश्व सम्मेलन, क्षेत्रीय सम्मेलन र बैठकका लागि एक नारा तय गरेर त्यही सारमा केन्द्रीत रही छलफल र निर्णयहरु गर्ने प्रथा संघमा छ। न्यूजर्सीमा आयोजना हुने नवौं एनआरएन क्षेत्रीय सम्मेलनको नारा भने आजसम्मका चलनचल्तिका नाराहरु भन्दा भिन्न प्रकृतिको छ। न्यूजर्सी क्षेत्रीय सम्मेलनको नारा  ‘भिजन २०२० एण्ड वियोन्ड’ राखिएको छ। जुन नेपाल वा नेपालीसँग समसामयीक रूपमा सम्बन्धित देखिँदैन, तर संघको दिर्घकालिन दृष्टिकोणप्रति दिशानिर्देश गर्ने ध्येय राखेको देखिन्छ।

गैर-आवासीय नेपाली संघको ईतिहास, यसको विकासक्रम, कार्यनीति, संस्थागत संरचना र लक्ष्यहरूको पुनरावलोकन गर्दै संघका नवीनतम चुनौतिलाई सम्बोधन गर्नु अहिलेको आवस्यकता हो । त्यसबाहेक आउँदो दशकमा संघको भूमिका कस्तो रहनेछ भनी दिर्घकालिन योजना बनाउनु र ती उद्देश्य प्राप्तिका लागि आधारभूत संस्थागत संरचना निर्माण गर्नु पनि जरूरी हुन्छ । न्यूजर्सी सम्मेलनको नाराले गैर-आवासीय नेपाली संघले आफ्नो स्थापनाको १३ वर्ष पश्चात् संस्थागत संरचना र कार्यनीतिमा परिमार्जन र दीर्घकालिन नवीन दृष्टिकोणको आवश्यकता महशुस गरेको तर्फ स्पष्ट ईंगित गर्दछ।

‘भिजन २०२० एण्ड वियोन्ड’ शिर्षकमा गैर-आवासीय नेपाली संघका अभियन्ताहरु विचारमग्न भई घनिभूत छलफल गर्नेछन्। ति छलफलहरुबाट जे जस्तो निर्देशक तत्त्वहरूको पहिचान वा निर्णय गरिए पनि त्यसको कार्यान्वयनका लागि केही आवश्यक पूर्वाधारहरुको यहाँ विमर्श गर्ने जमर्को गरिएको छ।

एनआरएनएका संस्थापक, संवाहक र उर्जापुरुषहरू

गैर-आवासीय नेपाली संघको सञ्जाल विश्वका ७४ मुलुकहरूमा फैलिएको छ । यसरी विश्वब्यापी रूपमा ब्यापक सञ्जालको निर्माण गरेर कृयाशील संस्था अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा पनि धेरै पाईंदैनन् । परोपकारी, मानव अधिकार वा  मानवतासम्बन्धि क्षेत्रमा विश्वब्यापी रुपमा कार्य गरिरहेका संघ-संस्थाहरुको स्थापना र विकासक्रमको अध्ययन गर्दा ति संघ-संस्थाको स्थापना र विकासमा केही व्यक्तिहरुको दिर्घकालिन सोँच, दूरदृष्टि र नेतृत्वकारी भूमिका अहं रहेको भेटिन्छ।

गैर-आवासीय नेपाली संघको स्थापना र विकासमा पनि केही व्यक्तित्वहरुले ज्यादै महत्वपूर्ण भूमिका खेलेका छन्। यद्यपि संस्थाको विकास र दैनिकीमा प्रत्येक सदस्यको योगदान अवश्य रहेको हुन्छ। विगतलाई फर्केर हेर्दा हालसम्म तिन जना भूतपूर्व अध्यक्षहरुले संघको सफल नेतृत्व सम्हालि सकेका छन् भने बहालवाला अध्यक्ष संघको चौथो नेतृत्वदायी व्यक्तित्व हुनुहुन्छ ।

संघको स्थापना काल सन २००३ देखि २००९ सम्म डा. उपेन्द्र महतो, सन २००९ बाट २०११ सम्म देवमान हिराचन र सन २०११ बाट २०१३ सम्म जिवा लामिछाने अध्यक्ष थिए भने सन २०१३ मा अध्यक्ष निर्वाचित शेष घले सन २०१५ मा दोश्रो कार्यकालका लागि पुन: निर्वाचित हुनुभएको हो।

भूतपूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो र जिवा लामिछाने आफ्नो पदावधि सकेपछि पनि गैर-आवासीय नेपाली संघका लगभग हरेक र प्रवासी नेपाली समाजका महत्त्वपूर्ण कार्यक्रमहरुमा सक्रियताका साथ भाग लिईरहेको भेट्न सकिन्छ। संघको ईतिहास, कार्यनीति, कार्यदिशा, लक्ष्य र उद्देश्यका बारेमा जिज्ञासुहरुद्वारा राखिएका प्रश्नहरुको उत्तर र सहभागीताका लागि डा. महतो र लामिछाने सदैव तत्पर देखिन्छन्। सघंका परोपकारी योजनाहरुमा आर्थिक सहयोगका लागि आनाकानी गरेको पनि सुनिदैन। दोस्रो कार्यकाल निर्वाह गर्दै गरेका वर्तमान अध्यक्ष शेष घले विशेष जोश र जाँगरका साथ संघको कार्य सम्पादनमा लागि परेको तथ्य सर्वविदितै छ।

योगदान, लगाव र समर्पणका हिसाबले मेरो विचारमा यी तिनै सक्रिय व्यक्तित्त्वहरु संघका निम्ति महापुरुष, युग प्रवर्तक र उर्जापुरूष हुन्। यी तिन व्यक्तित्त्वहरु गैर-आवासीय नेपाली संघका संस्थागत खम्बा, वैचारिक धरातल र क्षितिज अनि संघको स्थायीत्व र निरन्तरताका “ग्यारेन्टि” हुन्। गैर-आवासीय नेपाली संघलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा अझ प्रभावशाली र प्रभावकारी संयन्त्र बनाउनका लागि संघका हरेक साना-ठूला कार्यनीतिगत एवं लक्ष्यगत परिमार्जनमा यी तिनै व्यक्तित्वहरुको सहमति र संलग्नताको आवश्यकता रहन्छ। ‘भिजन २०२० एण्ड वियोन्ड’मा यी तिनै जना व्यक्तित्वहरु लगायत अन्य अभियन्ता र सहभागीहरुको दृष्टि, सोँच र चिन्तन समेटिनु पर्दछ।

नवीन संस्थागत र ब्यवस्थापकिय सोँच

गैर-आवासीय नेपाली संघको विश्वब्यापी सञ्जालको आकार ब्यापक र विशाल भएको छ। ७४ राष्ट्रहरुमा संघका राष्ट्रिय समन्वय परिषदहरु गठित छन्। त्यसैगरी विविध क्षेत्रमा कार्य गर्नेगरी गठन र संचालन भएका संघका दर्जनौं समिति र टास्क फोर्सहरु छन्। आयतन बढ्दै जाँदा गैर-आवासीय नेपाली संघ एक बृहद् र जटिल सांगठनिक संरचना भएको संस्था बनेको छ।

जसका कारण संघका साधारण सदस्यहरुलाई ति विभिन्न संस्थागत ईकाईका काम, कर्तब्य र अधिकारका बारेमा बुझाउन नसकिएको अवस्था छ। विधान र नियमावली बुझ्नु त अझ जटिल छ। यसले संघको प्रभावकारितालाई सीमित गरिरहेको छ। त्यसैले संघको जटिल संस्थागत संरचना र कार्यविधिमा यथाशिघ्र नवीनता आउनु आवश्यक देखिन्छ। ‘भिजन २०२० एण्ड वियोन्ड’ बाट गैर-आवासीय नेपालीहरुले माथि उल्लेखित विषयमा अवश्य पनि नवीनताको अपेक्षा गरेका छन्।

आधुनिक व्यवस्थापकीय मान्यताले काम, कर्तब्य र अधिकारको अधिकतम विभाजनको वकालत गर्दछ। त्यसैगरी प्रशासकिय रूपमा पनि कार्य-विभाजन सुझाइन्छ। गैर-आवासीय नेपाली संघको संस्थागत रुपमा विभाजित ६ क्षेत्रका अवसर र चुनौतिहरु केन्द्रबाट मात्र सम्बोधन हुन सक्दैनन्। त्यसैले विकेन्द्रीकरणका माध्यमबाट क्षेत्रीय ईकाईहरुलाई अझ बढि काम, कर्तव्य र अधिकार प्रदान गर्दा संघको प्रभावकारितामा बृद्धि हुने देखिन्छ। तर विकेन्द्रीकरणलाई प्रभावकारी ढंगले लागू गर्न मजबुत सांगठनिक घरातलको आवश्यकता पर्दछ, जसको प्रकृति आन्तरिक छलफलका माध्यमबाट तय गरिनु पर्ने देखिन्छ।

नेपालीका लागि नेपाली कि ? नेपालीका लागि सबै ?

“नेपालीका लागि नेपाली” गैर-आवासीय नेपाली संघको स्थापना कालदेखिको मूल मन्त्र हो। यसले गैर-आवासीय नेपालीहरुलाई नेपाल र नेपालीका लागि योगदान गर्न हौस्यायो। नेपाल र नेपालीका लागि हामीले नगरे कस्ले गर्ने ? भन्ने सोँचमा जागरूकता बढायो। जुन ज्यादै सकारात्मक छ। गैर-आवासीय नेपाली संघको विगत १३ वर्षको ईतिहास केलाउने हो भने संघका प्राय: सबै साना-ठूला योजनाहरुमा सामन्यतः नेपालीहरुको मात्र योगदान रहेको छ।

संघको मूलमन्त्र “नेपालीका लागि नेपाली” र त्यससँग अन्तरनिहित भावना कतै संसारभर फैलिएर रहेका विदेशी मित्रहरुको योगदान लिन बाधक बनिरहेको त छैन ? संघको सम्पूर्ण कामकारवाही त नेपालीले नै सम्पादन गर्ने हो, तर सहयोग त देशी-विदेशी सबैको लिनु पर्छ। गैर-आवासीय नेपाली संघको कार्यक्षेत्र विस्तार हुँदै गर्दा हामीले ति नयाँ कार्यक्षेत्र र योजनाका लागि स्रोत र साधन जुटाउन आवश्यक छ।

यसका लागि हाम्रो मूलमन्त्र नै फेरिनु पर्छ भन्ने छैन तर विदेशी संघ-संस्था र विदेशी मित्रहरुबाट संघका योजनाहरुका लागि जुटाउन सकिने योगदानको अन्वेषण हुनु जरूरी छ। ‘भिजन २०२०’ ले यस सम्बन्धमा आवश्यक चिन्तन र कार्यनीतिको विकास गर्न सकेमा नेपालको सामाजिक-आर्थिक परिवर्तनका योजनाहरु संचालनका लागि स्रोत र साधन जुटाउन सहज हुनेछ। फलस्वरूप आउँदो दशकमा संघ अझ परिष्कृत, उर्जावान र प्रभावकारी बन्नेछ ।

 Leave a Reply

(required)

(required)


*