Jul 132017
 
Share on FacebookTweet about this on TwitterShare on Google+Print this page

गैरआवासिय नेपाली (एनआरएन) सँघमा अहिले चुनाव लागेको छ । र चुनावले तात्तिएका र रापिएकाहरू केही नारा उरालिरहेका छन् । सबैभन्दा चर्चित नारा बनेको छ- एनआरएन सँघलाई धनी होइन प्रवासीको संस्था बनाउँ, ब्यापारीको होइन गरिखानेको संस्था बनाउँ ।

सँघमा धनीहरूको पकड भयो, सामान्य आम्दानी हुनेहरू पाखा लागे भन्ने चिन्ता चुनावको बेला निकै चुलिन्छ । झट्ट सुन्दा यो चिन्ता आम सदस्यहरूलाई अपिल गर्ने चुम्बकिय कथन जस्तो लाग्छ, तर यो चिन्ताको अन्तर्यमा रहेको मट्याङ्ग्रा, दिलचस्पी र व्यक्तिगत स्वार्थ अर्कै छ । र सच्चाई दुष्कर छ ।

७५ देशमा फैलिएको ठुलो संजाल छ- एनआरएन सँघको । सँघका केन्द्रीय पदाधिकारी ति देशमा पुगुन् र तत् तत् देशको सानाठुला कार्यक्रममा भाग लिउन् भन्ने सबैको अपेक्षा हुन्छ । राष्ट्रिय समितिमा बस्नेसँग क्षेत्रिय समितिको त्यस्तै आशा हुन्छ । एनआरएनका सबै कार्यक्रमहरू चन्दाको भरमा चल्दै आएका छन् । भन्न परेन, खादाको खोलमा चन्दाको अंकको साइज लुकेको हुन्छ । अर्कोतर्फ, अन्तर्राष्ट्रिय र राष्ट्रिय अनेक सभा सम्मेलनमा भाग लिनु त छँदैछ । यो चन्दैचन्दाको चक्र र अनगिन्ती भ्रमणहरूका खर्चपर्च आफैले गर्नुपर्ने हुँदा एनआरएन पदाधिकारी महंगो जिम्मेवारी बनेको छ । महंगो जिम्मेवारी लिन खोज्ने सस्ता मान्छेहरूले पद ताकेर चक्रव्युहमा छिर्नु शहिद हुन तम्सनु मात्र हो । सामान्य आम्दानी भएका थुप्रै नारानहरू अभियन्ता बन्ने नशामा कामकाज र क्यारियर बिग्रेका प्रशस्त उदाहरण छन् । यस्ता दृष्टान्तहरूको फेहरिस्त बढ्दै जान थालेपछि संस्थापक अध्यक्ष उपेन्द्र महतोले कामकुरो नबिगारीकन संस्थामा लाग्न धेरै कार्यक्रममा धेरै पटक सुझाएका छन् । तर समाज सेवाको नशा जूवाको भन्दा कम नहुँदो रै’छ ।

नेपालमा स्थानीय र संसदीय राजनीति गर्नेहरू पनि आफूलाई समाजसेवी नै भन्छन् तर उनीहरूलाई जस्तो भत्ता र शक्तिको लाभ एनआरएनकर्मीलाई विदेशमा छैन । न दूतावासका कर्मचारीहरू झैं वैतनिक हुन् । तर अग्रपंक्तिमा रहेका एनआरएनकर्मीहरूको खटाई डेस्क नकुर्ने दूतावास कर्मचारीको जस्तो छ ।

केही वर्ष विदेश बसेर स्थापित भएपछि वा केही पैसा कमाएपछि धेरैको समाज सेवा गर्ने रहर हुन्छ र यस्तो समाज सेवा सानै स्केलको भए पनि अर्काले मान्यता दिउन् भन्ने अपेक्षा हुन्छ । कदर होस् वा नहोस् भनी लागेका फल-निरपेक्ष समाजसेवी आक्कलझुक्कलै भेटिन्छन् । राजनीतिको च्यादर ओढेर समाजसेवा गर्नेहरू त कब्जा गर्ने भन्दै हाटहुट गर्ने भैहाले । यी सबै खाले समाजसेवीहरूको पहिलो निशाना हो- एनआरएन सँघ । किनभने सबैभन्दा बढी फैलिएको (अर्थात् सदस्य रहेको) र सर्वाधीक नाम चलेको संस्था हो- एनआरएन सँघ ।

नेपालका नेताहरू झैं प्रवासका हरेक कार्यक्रममा अतिथि बन्नु र संबन्धित विषयको ज्ञान भए पनि नभए पनि भाषण ठोक्नु नारानवालाहरूको अर्को विशेषता हो । सायद एनआरएन सँघमा लाग्नुको एउटा आकर्षण वा आसक्ती यो पनि हो । त्यसैले एनआरएन सँघको नेतृत्वमा जान धेरैको रहर छ र प्रतिस्पर्धा तिब्र छ, तर रहर गर्नेहरूले गंभीरतापूर्वक बुझ्नुपर्ने कुरा एनआरएन सँघको सांगठनिक चित्र नै यस्तो छ की धनीलाई मात्र ‘नारान राजनीति’ गर्न सजिलो छ । एनआरएन सँघ यस्तो संस्था हो जहाँ कसले कति दान दियो, कति चन्दा बोल्यो वा कति लगानी गर्यो भन्ने कुराले ‘नारान व्यक्तित्व’ को उचाई तय गर्छ । सँघको संरचना, संजाल र कार्यपद्धति नै यस्तो छ की उदारतापूर्वक पैसा खर्च गर्न नसक्नेले पदको अपेक्षा र महत्ता कायम गर्न सक्दैन । त्यसैले धन भैकन कार्यसूचि बोकेको व्यक्ति सँघको नेतृत्वमा आओस् भनेर शुभेच्छा राख्नु नै अहिलेको सन्दर्भमा ज्यादा सान्दर्भिक हुन्छ । जीवा लामिछाने जस्ता धन, मन र इमानको समिश्रण भएका कति पो हुन्छन् र !

संस्था हरेक साल विस्तार हुँदैछ । नयाँ-नयाँ राष्ट्रिय समितिहरू गठन भएका मात्र होइनन्, पुराना राष्ट्रिय समितिको आयतन पनि बढीरहेको छ । तर एनआरएन राजनीति हरेक साल अझ धनीमुखि बन्दैछ । धन नभएका तर मन भएकाहरूलाई ‘एनआरएन सँघलाई धनीको होइन प्रवासीको संस्था बनाउँछु’ भन्ने नारा झन् झन् पेचिलो त बनेको छ तर रोइलो मात्र हो । यो होइन की त्यहाँ खर्च-गर्ने-शक्ति धेरै नभएका तर दृष्टिकोण भएकाहरू अटाउन सक्दैनन् । सक्छन्, तर धनाढ्यहरू झैं गहिरो पानीमा हाम फाल्न सक्दैनन्, छेउछाउमा छप्लाङछुप्लुङ मात्र गर्ने हुन् ।

(पंचम अधिकारीको यो लेख सेतोपाटी डट कममा पहिलो पटक जुलार्इ १२ मा प्रकाशित भएको हो । केही हिज्जेमा भएको गल्तिलार्इ यसमा सच्चाएर प्रकाशित गरिएको छ ।)

 Leave a Reply

(required)

(required)


*