एनआरएन सँघ अध्यक्षमा भट्टको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको अध्यक्षमा वर्तमान अध्यक्ष भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन्। शनिबार होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गर्दै उनले २०१७—२०१९ कार्यकालका लागि आफू अध्यक्षको उम्मेदवार हुने बताएका हुन्।

उम्मेदवारी घोषणा गर्न अयोजित पत्रकार सम्मेलनमा उनले वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमाका लागि एनआरएन वैदेशिक रोजगार आपत्कालीन कोषको रकम परिचालन गर्न सकिने जनाए।

अध्यक्ष प्रत्यासी भट्टले प्रत्येक राष्ट्रमा भएका एनआरएनए शाखा (एनसीसी) ले एउटा परियोजना निर्माण गर्ने परिकल्पना पत्रकार सामु सुनाएका थिए। ′हरेक एनसीसीका एक विशेष परियोजना परिकल्पना गरिएको छ, सामाजिक उद्यमशीलतालाई प्रवद्र्धन गरी महिला तथा युवा सहभागिता वृद्धि गरिने कार्यक्रम रहनेछ′, उनले भने। हाल गैरआवासीय नेपाली संघका विश्वभरि ७७ एनसीसीहरु रहेका छन्। ती सबैले एउटा—एउटा परियोजना सञ्चालन गर्दा गैरआवासीय नेपालीका नेपालमा ७७ परियोजना हुनेछन्।

गैरआवासीय नेपालीको सामूहिक लगानी नेपाल भित्र्याउन एवं वैदेशिक रोजगार कोषलाई अझ विस्तार गर्न आफूले जोड दिने उनको भनाइ थियो। हाल एनआरएनए वैदेशिक रोजगार कोषमा करिब दुई करोड ५० लाख रुपैयाँ रहेको छ।
वर्तमान नेतृत्वले अघि बढाएका लाप्राक नमुना बस्ती, एनआरएन भवन निर्माण, भिजन ट्वान्टी ट्वान्टी एन्ड वियोन्ड तथा सामूहिक लगानीलाई निरन्तरता दिने प्रतिबद्धता उनले जनाए।

संस्थागत संरचना परिवर्तनका लागि अध्यक्ष शेष घलेले प्रस्ताव गरेको भिजन ट्वान्टी ट्वान्टीबारे गैरआवासीय नेपाली संघमा मत विभाजनको स्थिति छ।

‘साथीहरुको विवाद सो प्रस्तावको कन्टेन्टमा हो। संस्थाको गतिशीलताका लागि भिजन आउनु सामान्य प्रक्रिया हो′, उनले भने, ‘यसलाई सकेसम्म पहल गर्छु। दुवै पक्षलाई ब्यालेन्स गर्ने ट्रिकी गेमको रुपमा मैले यसलाई प्रस्तुत गरेको छैन।′