अलि बाबा अर्बपति

सन् १९९९ मा १७ जना साथीहरूसँग मिलेर ज्याक माले ई–कमर्स वेबसाइट अलिबाबा सुरु गरेका थिए । यो कम्पनी खोल्न आवश्यक ६० हजार डलर उनले आफ्ना ८० जना साथीसँग ऋण खोजेर जुटाएका थिए । अहिले ज्याक चीनकै तेस्रो धनी व्यक्ति भएका छन् । फोब्र्स पत्रिकाले सन् २००७ का लागि उनलाई चीनको तेस्रो धनी व्यक्तिको सूचीमा राखेको छ । उनलाई यति धेरै सफलता दिलाउने कम्पनीको नाम अलिबाबा नैचाहिँ उनले किन राखे ? विभिन्न अन्तर्वार्तामा उनले यसको कहानी सार्वजनिक गर्दै आएका छन् ।

उनले व्यवसायको सोचमा रहँदै गर्दा कम्पनीको नाम के राख्ने भनेर कल्पिरहेका थिए । उनको दिमागमा ‘अलिबाबा’ नाम घुमिरहेको थियो । तर, उनले यो नाम सबैका लागि रुचिकर हुन्छ कि हुन्न भनेर परीक्षण गर्न चाहिरहेका थिए । एक दिन उनी अमेरिकाको क्यालिफोर्नियामा पर्ने सनफ्रान्सिस्कोस्थित एउटा कफी पसलमा बसिरहेको थिए । त्यहाँ एउटी वेट्रेस आइन् । ज्याकले वेट्रेसलाई सोधे– तिमी अलिबाबालाई चिन्छौ ? जवाफमा तिनले भनिन्– खुल जा सिमसिम ।

वेट्रेसको जवाफ सुनेलगत्तै ज्याकले सो नाममा स्वीकृति जनाए । कफी पसलमा भएको यो परीक्षाणपछि उनले अन्य ३० व्यक्तिलाई पनि उही प्रश्न गरे, अलिबाबा चिन्छौ ? उनले सकेसम्म फरक–फरक देशका व्यक्तिलाई यो प्रश्न गरेका थिए । जर्मनी, चीन, जापान, भारतलगायत देशका जनतालाई उनले प्रश्न गरेका थिए । सबैले अलिबाबालाई चिन्ने जवाफ फर्काए । सोही कफी सपमा उनले आफ्नो कम्पनीको नाम अलिबाबा राख्ने अन्तिम निर्णय गरे र अलिबाबाले एक वेबसाइट कम्पनीको रूप लियो ।

एक अन्तर्वार्तामा ज्याकले भनेका छन्, ‘अलिबाबा चोर थिएनन् । उनी दयालु थिए र व्यापार कसरी गर्ने भन्ने पनि जानेका थिए । उनले गाउँलेहरूलाई पनि सहयोग गरेका थिए ।’

खासमा अलिबाबा एउटा लोक कथाका पात्र हुन् । अलिबाबा र ४० चोरको कथा ‘अलिबाबा एन्ड फोर्टी थिभ्स’ १८औँ शताब्दीमा युरोपियन अनुवादक एन्टोनी गेलान्डले ‘वान थाउजेन्ड एन्ड वान नाइट’ पुस्तकमा संकलन गरेका थिए । कथामा अलिबाबाको चरित्र काठ काट्ने (उड कटर)को छ । जे होस्, लोक कथाका यी पात्र विश्वका धेरै देशमा १८औँ शताब्दीदेखि चर्चामा छन् । त्यसैले ज्याकले कम्पनीको नाम नै अलिबाबा रोजे । अलिबाबा जसरी सबैका लागि थिए, त्यसैगरी अलिबाबा कम्पनी सबैका लागि खुलेको हो भन्ने सन्देश ज्याक नामबाटै दिन चाहन्थे । नभन्दै उनको कम्पनी दुनियाँभरका मान्छेहरूले कारोबार गर्न सक्ने बन्यो ।